काठमाडौं, नेपालको तातोपानी भन्सार नाकाबाट पहिलोपटक हेलिकप्टर आयात भएको छ। चीनको तियाजिन सहरस्थित एयरबस कम्पनीको उत्पादन रहेको हेलिकप्टर माउन्टेन हेलिकप्टर्स प्रालिले खरिद गरि ल्याएको हो। ४० फुटे टेलरमा राखेर सडकमार्ग हुँदै हेलिकप्टर नेपाल ल्याइएको हो।
तातोपानी भन्सारका प्रमुख अनिरुद्र थापाका अनुसार यो हेलिकप्टर चीनबाट ट्रान्स सिल्क ट्रान्सपोर्टमार्फत ल्याइएको हो र हाल भन्सार प्रक्रियामा रहेको छ। उक्त हेलिकप्टर बुधबार नेपाली सीमा क्षेत्रमा प्रवेश गरेको र अहिले भन्सार जाँचको प्रक्रियामा रहेको उनको भनाइ छ।
भन्सार प्रक्रिया पूरा भएपछि हेलिकप्टर एक–दुई दिनमै काठमाडौं उडाइने तयारी गरिएको छ। माउन्टेन हेलिकप्टर्स प्रालिका रामचन्द्र भुसालले सतहमार्ग हुँदै हेलिकप्टर आएको यो पहिलो पटक हो। हेलिकप्टरको भन्सार महसुल करिब चार करोडभन्दा बढी पर्नेछ।
माउन्टेन हेलिकप्टर्सले चीनबाट पाँच वटा हेलिकप्टर खरिद गरेको छ, जुन सबै तातोपानी नाका भएर क्रमिक रूपमा काठमाडौं ल्याइने तयारी गरिएको छ। पर्यटन प्रयोजनका लागि ल्याइएका यी हेलिकप्टरको प्राविधिक निरीक्षणपछि काठमाडौं उडाउन मिल्ने जनाइएको छ।