पर्यटक र यात्रुलाई दु:ख दिएको आरोपमा ९ जना पक्राउ

HTV Khabar १७ फाल्गुन २०८०, बिहीबार ०५:१९ मा प्रकाशित

काठमाडौं, पर्यटकलाई हैरान बनाएको आरोपमा पोखरामा ९ जना पक्राउ परेका छन्। मंगलबार पोखराको पृथ्वीचोक, मुस्ताङ चोकमा यात्रु र पर्यटकलाई दु:ख दिनेलाई प्रहरीले पक्राउ गरेको हो।


पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–९ पृथ्वीचोक बस्ने ४० वर्षीय रुपेन्द्र श्रेष्ठ, ३२ वर्षीय मोहन आचार्य, नागढुंगा बस्ने ४० वर्षीय नारायण अधिकारी, ४४ वर्षीय श्यामप्रसाद शर्मा छन्।


बसपार्क बस्ने २५ वर्षीय विकास कुँवर, पृथ्वीचोकका २१ वर्षीय विमल ठकुरी, विकास श्रेष्ठ, पोखरा–१३ पाटनबेसी बस्ने २८ वर्षीय रञ्जन खड्का र पोखरा–१७ ड्यामसाइड बस्ने १९ वर्षीय सविन नेपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।


उनीहरुमाथि पर्यटकलाई सवारीबाट जबरजस्ती ओराल्ने, बाटो छेक्ने, राम्रो होटल मिलाइदिन्छु भनेर झोला तान्दै पैसाको बार्गेनिङ गरेको आरोप छ। जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।