बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

HTV Khabar २४ माघ २०८०, बुधवार ०५:३३ मा प्रकाशित

काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा-३ का वडाध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

घरबाटो सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारले उनलाई भ्रष्टाचार मुद्दा दायर गरेको हो।


अख्तियारको हेटौंडा कार्यालयको टोलीले वडाध्यक्ष तारा बहादुर कार्की क्षेत्रीलाई सेवाग्राहीबाट ५ लाख रुपैयाँ लिइएको अवस्थामा पक्राउ गरेको थियो।


उनीविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर बुधबार बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए।