भारतीय स्करपियो गाडीबाट झण्डै २ करोड नेपाली नक्कली नोट बरामद

HTV Khabar २९ माघ २०८०, सोमबार १०:०६ मा प्रकाशित

काठमाडौं,  सुनसरी प्रहरीले भारतीय नम्बर प्लेटको स्करपियो गाडीबाट झण्डै दुई करोड रुपैया बराबरका नक्कली नोट बरामद गरेको छ।


आईतवार भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका-४ स्थित सुनसरी खोलाको पुलनजिकबाट एक हजार दरका एक करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरिएको हो।


नक्कली नोटसँगै एक जना भारतीय नागरिकलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको थियो।


खानतलासी गर्दा पछाडिको भागमा लुकाइछिपाइ ल्याइएको नक्कली नोटहरु बरामद भएको प्रहरीले जनाएको छ। गाडी चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयद पक्राउ परेका छन् भने गाडीमा सवार अर्का व्यक्ति भने फरार रहेका छन्। नक्कली नोटसँगै बरामद गाडी र चालकमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।