दार्चुलाको उत्तरी नाका तिङ्करमा प्रहरी टोली खटियो

HTV Khabar ६ जेठ २०८१, आइतबार ११:३१ मा प्रकाशित

काठमाडौं, दार्चुलाको उत्तरी नाका तिङ्करमा नेपाल प्रहरीको टोली खटिएको छ।

व्यास गाउँपालिका वडा नम्बर–१ मा पर्ने तिङ्कर नाकामा प्रहरी सहायक निरीक्षक चक्रबहादुर सिंहको कमाण्डमा १३ जना प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

भारतीय बाटो हुँदै खाद्य सामग्रीसहित टोली बिहीवार नै तिङ्कर नाकातर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डीएसपी शिवबहादुर सिंहले जानकारी दिए।

नेपालको भूमि भएर तिङ्कर पुग्न पाँच दिन लाग्ने भएपछि सुरक्षाकर्मीको टोली भारतीय बाटो हुँदै तिङ्कर गएको हो। छायालेक प्रहरीले तिङ्कर गाउँको साथै चीनसँगको सीमा क्षेत्रसम्मको जिम्मेवारी पाएको छ।