बाल अपाङ्ग टेवा संस्थाको १८ औं वार्षिक साधारणसभा सम्पन्न

सबिन पन्त 'पृथक' ३० भाद्र २०८१, आइतबार ०२:१९ मा प्रकाशित

काठमाडौं, बूढानीलकण्ठ नगरपालिका वडा नं.-११ स्थित बाल अपाङ्ग टेवा संस्थाको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

बूढानीलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष ध्रुवराज न्यौपानेको सभापतित्वमा संस्थाकै कार्यालयमा वार्षिक साधारणसभा सम्पन्न भएको हो। 

२०६२ सालमा डेन्डी शेर्पाले संस्था स्थापना गरेर हालसम्म सयौं अपांग बालबालिकाको उद्धार गरिसकेको छ। अनाथ तथा शारीरिक रूपमा अशक्त भएका विभिन्न जिल्लाहरुबाट बालबालिका यहाँ आश्रय लिने गर्छन्। अहिले पनि ६ वर्षदेखि २२ वर्षसम्मका अपांग बालबालिकाहरु यहाँ रहेको संस्थापक अध्यक्ष शेर्पाले एचटिभी खबरलाई बताए।

संस्थाले बालबालिकालाई खान बस्नदेखि स्वास्थ्य र शिक्षा समेत नि:शुल्क उपलब्ध गराउँँदै आएको छ। अपांगहरुको लागि नेपालमै पहिलोपटक संस्थाले व्हिल चेयर निर्माण गर्न थालिएको र पुराना व्हिल चेयरपनि मर्मत गर्दा लाग्ने समानको मात्रै मूल्य लिएर नि:शुल्क मर्मत गरिदिने शेर्पाले बताए। 

हाल व्हिल चेयर मर्मतको लागि हाल कोशी प्रदेशको ईटहरीमा शाखा खोलेर सेवा दिन थालिएको र छिट्टैनै सातवटै प्रदेशमा विस्तार गर्ने लक्ष्य रहेको पनि समाजसेवी शेर्पाले जानकारी गराए। 

कार्यक्रममा बोल्दै नगर प्रमुख मिठाराम अधिकारीले आफ्नो जीवनको आधा उमेर समाजसेवामा व्यतीत गरेर देशका विभिन्न ठाँउका अपांग बालबालिकाको जीवन उद्धार गरेकोमा डेन्डी शेर्पाको प्रशंसा गरेका थिए। संस्थालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। 

कार्यवाहक अध्यक्ष ध्रुवराज न्यौपानेले साधारणसभामा आफ्नो अमूल्य समय दिएर उपस्थित हुने सम्पूर्ण अतिथिहरुलाई धन्यवाद दिएका थिए। अपांग बालबालिकाको बारेमा पहिले आफूलाई केही जानकारी नभएको तर जब संस्थामा आवद्ध भएर कामगर्न थालेपछि उनिहरुको बारेमा धेरै बुझेको र माया लाग्ने गरेको पनि न्यौपानेले बताए।