काठमाडौं, डेढ अर्ब रकम हिनामिना गरेको आरोपमा प्रहरीले जिल्ला समन्वय समिति (जिसस) म्याग्दीका प्रमुखसहित पाँच जनालाई पक्राउ गरेको छ।
म्याग्दीको कुमारी बहुउदेश्यीय सहकारी संस्थाको डेढ अर्ब रकम हिनामिना गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो। जसमा जिसस प्रमुख राजकुमार थापा, मन प्रसाद थजाली, रुद्र बहादुर गुरुङ, थम बहादुर गर्वुजा र देवी कुमारी थापा रहेका छन्।
उनीहरूलाई म्याग्दी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई नियन्त्रणमा लिइएको म्याग्दी प्रहरीका सूचना अधिकारी सागर पौडेलले जानकारी दिए। उनका अनुसार उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।
गत वर्ष नै सहकारी हिनामिनाका मुख्य योजनाकार रहेको आरोपसहितको प्रतिवेदन प्रहरीले बुझाएको थियो। सहकारीको रकम सञ्चालकले ढुकुटी खेलाउने, निजी स्कुल र घरजग्गामा लगाउनेजस्ता व्यक्तिगत स्वार्थमा प्रयोग गरेको उक्त प्रतिवेदनमा उल्लेख छ।