काठमाडौं, राष्ट्रिय समाचार समितिमा महाप्रबन्धक नियुक्तिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दरखास्त खुलाएको छ।
दरखास्त दिन चाहनेका लागि शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण हुनुपर्ने तोकिएको छ। उमेर ३० वर्ष पुरा भइ ६५ वर्ष ननाघेको, सञ्चारमाध्यम प्रधान सम्पादक, सम्पादक, प्रकाशक वा व्यवस्थापकको रुपमा काम गरेको वा आम सञ्चार सम्बन्धी प्राज्ञिक वा नीति निर्माण तहमा रही काम गरेको वा पत्रकारिता तथा आमसञ्चार क्षेत्रमा कम्तीमा ७ वर्षको अनुभव भएको हुनुपर्ने तोकिएको छ।
कुनै सरकारी सेवा, सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, समिति, आयोग, प्रतिष्ठान वा सार्वजनिक कम्पनीको सेवामा रहेको वा सेवाबाट अवकाश प्राप्तको हकमा कम्तीमा अधिकृत स्तरको पदमा काम गरेको, पत्रकार आचारसंहिता उल्लंघनअन्तर्गत सजाय नपाएको हुनुपर्ने मन्त्रालयद्वारा आईतवार जारी सूचनामा उल्लेख छ।
आवेदकले शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपि, अनुभव खुल्ने कागजात र बायोडाटासंलग्न दरखास्तसँगै ५ पेजको व्यावसायिक कार्ययोजना पनि बुझाउनु पर्छ।महाप्रबन्धकको कार्यकाल ४ वर्षको हुन्छ। परेका आवेदनमा नाम छनोटको विभिन्न चरणपछि सिफारिस समितिले पठाएका नाममा मन्त्रिपरिषद्ले एक जनालाई नियुक्त गर्छ। सिद्धराज राईको पदावधि सकिनै लाग्दा मन्त्रालयले दर्खास्त खुलाएको हो।