बालिकाको शव भेटिएको घटनामा ६ जना पक्राउ

HTV Khabar १८ माघ २०८१, शुक्रबार ०६:४२ मा प्रकाशित

काठमाडौं,  मोरङको विराटनगरमा गाडिएको अवस्थामा बालिकाको शव भेटिएको घटनामा संलग्न रहेको आशंकामा मावल घरका ६ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मावल घरतर्फका हजुर बुबा ५५ वर्षीय सर्जुक मण्डल, ३५ वर्षीय रामबाबु मण्डल, ४० वर्षीया उर्मिला मण्डल, ४५ वर्षीया जानकी मण्डल, १७ वर्षीया अञ्जली मण्डल र ६० वर्षीया बतासी मण्डल छन्।

मोरङका डीएसपी वेदप्रकाश जोशीका अनुसार घटना शंकास्पद देखिएपछि विराटनगर-५ घर भएका उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

डीएसपी जोशीका अनुसार भारत बिहारको छाप्रा जिल्ला घर भएकी चाँदनी एक महिना अघि आफ्नै आमा राजकुमारी र बुबा लालमोहन यादवसँगै मावलाघर विराटनगर आएकी थिइन्। चाँदनीलाई मावल घरमा छाडेर उनका आमा राजकुमारी र बुबा लालमोहन भारत फर्केका थिए।

५/६ दिन यता चाँदनी गाउँमा नदेखेपछि स्थानीयले सोधखोज गरेका थिए। तर, सर्जुकले नातिनी आफ्नो घर भारत फर्किसकेको जवाफ दिएका थिए। यो विषयमा शंका लागेपछि स्थानीयले शुक्रवार प्रहरीलाई खबर गरेका थिए।

सोही आधारमा प्रहरीले बालिका चाँदनीको खोजतलास गरेका थिए। खोजी गर्ने क्रममा मावल घरभन्दा करिब ३८ मिटर दक्षिणमा रहेको खेतमा चाँदनीको शव गाडिएको अवस्थामा फेला परेको डीएसपी जोशीले बताए।