१५ अर्ब घोटालामा संलग्न नाइके प्रदीपसहितको समूहलाई कारबाही माग गर्दै प्राधिकरण घेराउ

HTV Khabar ९ वैशाख २०८२, मङ्गलबार ०३:१८ मा प्रकाशित

काठमाडौं,  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा झण्ड १५ अर्ब घोटाला, भ्रष्टाचार र अनियमिततामा मुछिएका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितको समूहलाई कारबाहीको माग गरेर युवा संगठन नेपाल र अखिल समाजवादीले संयुक्तरुपमा प्रदर्शन गरेका छन्।

सोमवार प्राधिकरणको केन्द्रीय कार्यालय, काठमाडौं, सिनामंगलमा विप्लव नेतृत्वको कम्युनिस्ट पार्टी समर्थक मानिने युवा संगठन नेपाल र अखिल (समाजवादी)ले महानिर्देशक अधिकारीविरुद्ध नारावाजी गर्दै प्रदर्शन गरेका हुन्। उनीहरूले प्राधिकरणको मूल गेटमा विरोध प्रदर्शनका साथै नारावाजी समेत गरेका छन्।

प्रदर्शनकारीले ‘नीतिगत भ्रष्टाचारीलाई कारबाही गर’, ‘एकीकृत जनक्रान्ति जिन्दावाद’, ‘प्रदीप अधिकारी राजीनामा दे’ जस्ता नारा लगाएका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा शुरुदेखि नै भ्रष्टाचार, घोटाला र अनियमितता भएको भन्दै सार्वजनिक लेखा समितिका सदस्य राजेन्द्र लिङ्देन संयोजक रहेको उपसमितिले तयार पारेको प्रतिवेदनमा तत्कालीन आयोजना प्रमुख (हालका महानिर्देशक) अधिकारीसहितका उच्च कर्मचारीहरूलाई कारबाही गर्न सिफारिस गरेको छ।

लिङ्देन समितिले विमानस्थलमा झण्डै १५ अर्ब घोटाला भएको ठहर गरेको छ। यसको मुख्य नाइकेका रुपमा तत्कालीन आयोजना प्रमुख (हालका महानिर्देशक) अधिकारीलाई आक्षेप लगाइएको छ।

अधिकारी २०७१ देखि २०७४ सम्म पोखरा विमानस्थल आयोजनाका प्रमुख थिए। २०७८ पछि महानिर्देशक रहेका अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीहरू परेका छन्। अख्तियारले अधिकारीसहितका उच्च कर्मचारीहरूसँग बयान लिँदै आएको छ।