- गृहपृष्ठ
- आज मधेस प्रदेशमा फागुपर्व मनाईंदै
आज मधेस प्रदेशमा फागुपर्व मनाईंदै
HTV Khabar
१२ चैत्र २०८०, सोमबार ०८:४७ मा प्रकाशित
सर्लाही, तराई मधेशका जिल्लाहरूमा रंगहरूको पर्व होली अर्थात फागु आज मनाइँदै छ। पहाडी र हिमाली जिल्लामा आईतवार नै होली मनाइएको थियो।
पहाडी र हिमाली जिल्लाहरुमा होली मनाएको भोलिपल्ट तराई मधेशका जिल्लाहरुमा मनाउने चलन छ। होलीको अवसरमा सरकारले आज तराई मधेशका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ। हिमाली र पहाडी जिल्लाहरुमा भने आईतवार सार्वजनिक बिदा थियो।
त्यसो त तराई मधेशमा दिनदिनै होली पर्वको रौनक छ। मधेशमा आईतवारदेखि सुरु भएको होली मङ्लबारसम्म खेल्ने तयारी छ। प्रदेशका आठवटै जिल्लाका उत्तरवर्त्ती क्षेत्रमा सघन बसोबास भएका पर्वते (पहाडी) मूलका हिन्दू समुदायले आईतवार नै होली मनाएका छन्।
साधु परम्परा (मठ, गुरुकूल परम्परा)मा पूणिर्मा सकिएर लाग्ने प्रतिपदा तिथिमा होली खेल्ने परम्परा अनुसार तराई मधेशका अधिकांश ठाउँमा सोमवार (आज) होली पर्व मनाइँदैछ।
मिथिलाको माध्यमिकी परिक्रमा क्षेत्रभित्र अन्तगृह परिक्रमा सम्पन्न गरिएपछि त्यसको भोलिपल्ट होली पर्व मनाउने परम्परा छ। यसअनुसार सोमवार अन्तगृह परिक्रमा गरिएपछि मंगलबार होली खेलिनेछ।
स्थानअनुसार मनाइने होलीको नाम पनि फरक-फरक छ। हिमाली र पहाडी भेगमा ‘फागु पूणिर्मा’ र तराई-मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ।
तराई-मधेशका अधिकांश क्षेत्रमा पूणिर्माको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाउने गरिएको छ।
सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ । हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्दै आएको छ।
असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ।
आज सर्लाही जिल्ला प्रहरी कार्यालयमा पनि कार्यरत प्रहरी कर्मचारी बीच उल्लासपूर्ण रूपमा फागु खेली मनाईएको प्रहरी प्रमुख दयानिधि ज्ञवालीले एचटिभी खबरलाई बताएका छन्।
