सर्लाहीका भेटेरिनरी अस्पताल तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

HTV Khabar १३ चैत्र २०८०, मङ्गलबार ०६:४७ मा प्रकाशित

सर्लाही,  भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा.सुनिलकुमार यादवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

कृषि सेड निर्माणका क्रममा भएको कामभन्दा बढीको मूल्यांकन गराएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

अख्तियारले अस्पतालका तत्कालीन योजना शाखा प्रमुख सुरेन्द्र महतो कोइरी र सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा नं ९ का तत्कालीन वडाध्यक्ष राम ईश्वर ठाकुर लोहारलाई पनि प्रतिवादी बनाएको छ।

त्यस्तै आम्रपाली बहुमुखी सहकारी संस्थाका अध्यक्ष मृगेन्द्रप्रसाद यादव, उपाध्यक्ष जयनारायण राय र व्यवस्थापक जय नन्दन राय यादवविरुद्ध पनि मुद्दा दायर गरिएको छ।

उनीहरूले कृषि सेड निर्माणका क्रममा फिल्डमाभन्दा बढी काम भएको विवरण पेस गरी ९ लाख ७७ हजार रुपैयाँ आम्रपाली सहकारीलाई गैरकानुनी लाभ पुर्‍याएको अख्तियारले बताएको छ।