काठमाडौं, ग्राहकलाई ठगी गर्ने र अनुसन्धान गरे डिएसपीकै सरुवा गरिदिने धम्की दिने दरबार रोधीघरका सञ्चालक अशोक गिरीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
जमलमा रोधीघर चलाउँदै आएका सिन्धुपाल्चोकका गिरीलाई प्रहरीले शुक्रवार पक्राउ गरेर आइतबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएकोमा प्रशासनले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। अभद्र व्यवहार गरेको कसुरमा उनलाई ४ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
गिरीले केही दिनअघि ६ हजारको बिललाई ६० हजार बनाएर ठगी गरेका थिए ।सोही विषयमा उजुरी परेपछि दरबारमार्ग वृत्तले छानबिन थालेको थियो। उनले आफूमाथि कारबाही गरे सरुवा गरिदिने भन्दै दरबारमार्ग वृत्तका डिएसपी गोविन्द थापालाई फोन गरेर धम्की दिएका थिए।
त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। जमलको मायालु सेन्टरमा दोहोरी चलाउँदै आएका गिरी गुन्डागर्दीमा समेत संलग्न रहेको भनेर उजुरी आएको छ। दोहोरीको टेबुलमा ग्राहकसँग युवती बसाउने र ठग्ने गरेको उजुरी विगतमा पनि पर्दै आएका थिए।