एसएसपी घिमिरेद्वारा चोरी भएका सवारी साधन धनीलाई हस्तान्तरण

HTV Khabar ३१ वैशाख २०८२, बुधवार ०६:२० मा प्रकाशित

काठमाडौं, काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट चोरी भएका २२ ओटा मोटरसाइकल र स्कुटर खोजतलास गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधवार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच ट्राफिक कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले १६ ओटा मोटरसाइकल र ६ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरेका हुन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यकाको मुलपानी, माकलबारी, सुकेधारा, गौरीघाट, काँडाघारी, नयाँ बसपार्क, सोह्रखुट्टे, स्वयम्भु, चौमती, स्युचाटार, दरबारमार्ग, भैंसेपाटी र ठिमी लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो।