प्रहरीमा गृहमन्त्रीको हस्तक्षेप : महानिरीक्षक मुकदर्शक

HTV Khabar २८ चैत्र २०८०, बुधवार ०८:१६ मा प्रकाशित

काठमाडौं, पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठको हस्तक्षेपले थिलथिलो भएको प्रहरी प्रशासन रवि लामिछानेले झन दलदलमा फसाएका छन्।

गत शुक्रवार प्रहरी प्रधान कार्यालयले १६ जना प्रहरी उपरीक्षक (एसपी)हरुको काज सरुवाको सूची निकालेपछि यसको पुष्टि भएको छ। जसमा प्रहरी महानिरीक्षक वसन्त कुँवर पनि अलमलिएका छन्।

उनीहरुको सरुवा गर्नुअघि गृहमन्त्री लामिछानेले प्रहरी बढुवामा योग्यतामा आधारित प्रणाली लागू हुने गरी कानुनी व्यवस्थाको प्रस्ताव ल्याउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्वलाई निर्देशन दिए लगत्तै सरुवा भएको ५० दिनपनि नपुगी एसपीहरुको सरुवा भएको छ। प्रहरी कर्मचारीलाई अन्यायपूर्ण तरिकाले सरुवा गर्दा पनि आइजीपी कुँवर मुकदर्शक मात्रै भएका छन्।

तराईका ६ वटा जिल्ला र एक पहाडी जिल्ला प्रहरी प्रमुखको सरुवा भएको छ। समयावधि नै नपुगी अचानक जिल्ला प्रमुखहरुको सरुवा भएपछि गृहमन्त्री लामिछाने आलोचितमात्र भएका छैनन्, प्रहरी संगठनभित्र पूर्ण रुपले हस्तक्षेप गरेको देखिएको स्रोतको दाबी छ। जबकी प्रहरी संगठनमा कुनै पनि अधिकृतले एक वर्ष युनिट कमाण्ड गर्ने प्रावधान रहेको छ। त्यसलाई समेत लत्याइएको छ।

गृहमन्त्री लामिछानेको हस्तक्षेपका कारण प्रहरी संगठनको आत्मबल कमजोर भएको र प्रहरी मापदण्डलाई लत्याउँदै संगठन प्रमुखलाई दबाबमा राख्न खोजेको देखिन्छ।

गृहमन्त्री लामिछानेको सचिवालय टिमले प्रहरी महानिरीक्षक (आईजीपी) कुँवरलाई २ महिना पनि नपुग्दै जिल्ला प्रहरी प्रमुखहरुलाई फेरबदल गर्न दबाब दिएका थिए। यसमा प्रहरी महानिरीक्षकले पनि अडान लिन नसकेको स्रोतको दाबी छ।

रविकै एउटा टिमले तयार पारेको सरुवा सूचीमा उनीहरुको पनि नाम रहेको स्रोतको दाबी छ। कुनै पनि प्रहरी अधिकारी कमाण्ड गर्न गएको ५०दिन भएको छैन, उसलाई बिनाकारण फिर्ता गर्ने कुनै पनि अधिकार हुँदैन, प्रहरी कर्मचारी सरुवा मापदण्डले दिँदैन।

यसअघिको एसपी बढुवा र प्रहरी नायब उपरीक्षक (डिएसपी) बढुवा समेत विवादमा तानिएको छ। डिएसपीमा १ नम्बरमा रहेका प्रदीप क्षेत्रीलाई छाडेर १२ नम्बरकालाई बढुवा गरेपछि गृहमन्त्री लामिछाने र आईजीपी कुँवरको आलोचना भएको थियो।

यता प्रहरी प्रधान कार्यालयले ती एसपीहरुलाई कार्यसम्पादका विषयमा उजुरी बढेपछि गृह मन्त्रालयको निर्देशनमा हटाइएको जनाएको भएपनि के के विषयमा उजुरी परेको हो भन्ने जानकारी दिइएको छैन।

उजुरी गृहमन्त्रालयमा परेको हो कि प्रहरी प्रधानकार्यालयमा परेको हो भन्ने बारेमा पनि केही खुलाइएको छैन। तराईका जिल्लाको मात्रै उजुरी पर्ने अन्य जिल्लामा चुपचाप रहने जुन प्रवृत्ति यसले संगठनमा काम गरिरहेका प्रहरीका आत्मबल कमजोर पार्ने काम मात्रै भएको एक एसपीले बताए।

बाँके, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषाका एसपीलाई अवधि नपुगी हटाइएको हो। बाँकेका एसपी सुवासचन्द्र बोहरा, बाराका सुरेश काफ्ले, रौतहटका महेन्द्र श्रेष्ठ, सर्लाहीका दयानिधी ज्ञवाली, महोत्तरीका श्यामकुमार राई तथा धनुषाका मित्रबन्धु शर्माको सरुवा भएको हो। उनीहरुमध्ये सर्लाहीका ज्ञवाली र महोत्तरीका राईको अवधि दुई महिना पनि पुगेको थिएन।

बाँकेमा तुलबहादुर कार्की, बारामा महेन्द्र खड्का, रौतटहमा दिलिप घिमिरे, सर्लाहीमा रबिन्द्र सिंह, महोत्तरीमा नकुल पोखरेल र धनुषामा भुवनेश्वर तिवारीको सरुवा भएको छ।

यस्तै पहाडी जिल्ला नुवाकोटमा शान्तिराज कोइरालालाई सरुवा गरिएको छ। कोइराला बढुवाको सूचीबाट बाहिर राखिएका पात्र हुन्। उनी बढुवा हुनुपर्ने स्थानमा १२ नम्बरका विनोद घिमिरेलाई बढुवा गरिएको थियो।