दुर्गा प्रसाईंलाई वीर अस्पतालमा स्वास्थ्य परीक्षण पश्चात् प्रहरी हिरासतमै फर्काइयो

सबिन पन्त 'पृथक' १० मंगशिर २०८१, सोमबार १०:०३ मा प्रकाशित

काठमाडौं, दुर्गा प्रसाईंलाई वीर अस्पतालमा स्वास्थ्य चेकजाँच गरेपश्चात प्रहरी हिरासतमा नै फर्काईएको छ।

साइबर ब्युरो प्रमुख डिआइजी नवीन्द अर्यालले एचटिभी खबरलाई बताएअनुसार आईतवार साँझ उनलाई अस्पताल भर्ना गरिएको हो।

'चिकित्सकको सल्लाह अनुसार हामीले उहाँलाई अस्पतालमा भर्ना गरि सम्पूर्ण स्वास्थ्य परीक्षण गरायौं, स्वास्थ्य परीक्षणमा उहाँको स्वास्थस्थिति समान्य रहेको पाईयो,' उनले भने।

स्वास्थ्य अवस्था समान्य रहेको पाएपछि प्रसाईंलाई अनुसन्धानका लागि रातीनै सिंहदरबार प्रहरी वृत्तमा लगिएको साईबर व्युरो प्रमुख अर्यालले बताए।

यसअघि जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमला पौडेलको इजलासले प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो। म्याद दिँदा प्रसाईं क्यान्सरको बिरामी रहेको भन्दै उपचारको प्रबन्ध मिलाउन पनि इजलासले आदेश दिएको थियो।

उनीमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ। सिआइबीले दुर्गा प्रसाईंलाई भक्तपुरस्थित निवासबाट गत मंसिर ४ गते पक्राउ गरेको थियो।

विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार अनुसन्धान गर्न प्रहरीले उनलाई पक्राउ गरेको थियो। उनीमाथि प्रहरीले अन्य कसुरमा पनि अनुसन्धान गर्ने तयारी गरिरहेको छ।