काठमाडौं, नेपाल एयरलाइन्सको चालु अवस्थामा रहेको एकमात्रै ट्वीनअटर विमान पनि ग्राउण्डेड भएपछि आन्तरिक उडान ठप्प भएको छ।
दुईवटा ट्वीनअटर चालु रहे पनि एउटा गएको जेठदेखि ग्राउण्डेड छ। आईतवारदेखि अर्को ट्वीनअटर पनि ग्राउण्डेड भएपछि आन्तरिक उडान पूर्णरुपमा ठप्प भएको हो।
नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले विमानमा प्राविधिक समस्या आएकाले केही समयलाई ग्राउण्डेड भएको बताए। ‘दुईवटा ट्वीनअटरमध्ये एउटा पहिल्यैदेखि ग्राउण्डेड थियो। अर्को जहाजको इन्जिनमा समस्या देखिएपछि ग्राउण्डेड भएको हो।’
नेपाल एयरलाइन्सले केही प्रक्रियागत विषय मिलाउन बाँकी रहेको र त्यसपछि विमान मर्मत गरिने जानकारी गराएको छ। ग्राउण्डेड भएका अन्य जहाजको इन्जिनबाट काम चलाउन सकिन्छ कि भनेर पनि छलफल भइरहेको उनले बताए।