काठमाडौं, बुटवलको होराइजन चोकमा एकै परिवारका तीन सदस्यको विभत्स हत्या भएको छ। मृतकहरूमा ३४ वर्षीया दीपा बस्याल र उनका दुई छोरी सात वर्षीया स्नेहा र चार वर्षीया हिमानी रहेका छन्।
हत्या सुजन कोइरालाले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। सुजन दीपाका पूर्वपति रहेको बताइएको छ। उनीहरुको सम्बन्ध विच्छेद केही वर्ष पहिले भएको थियो। कोइराला दाजुको हत्या अभियोगमा ९ वर्ष कैद भुक्तान गरी २०७८ सालमा कैद माफी पाएर छुटेका थिए।
प्रहरीका अनुसार २०६९ सालमा जिल्ला कारागार पाल्पा चलान भएका सुजन २०७८ साल असोज ३ गते तत्कालीन सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएपछि कास्की कारागारबाट जेलमुक्त भएका थिए।जेलमुक्त भएपछि भने उनले होराइजनचोकस्थित मिलिजुली पथमा हस्तकलाका सामग्रीको पसल सञ्चालन गर्दै आएका थिए। दुई तले घरमा एक्लै बस्दै आएका उनले बाँसबाट बनाइएका विभिन्न हस्तकलाका सामग्री ल्याएर घरबाटै थोकमा बिक्री वितरण गर्दै आएका थिए।
प्रहरीसँगको सोधपुछमा सुजनले सम्बन्ध विच्छेद पछि पनि दीपासँग विगत १ वर्षदेखि आफू नियमित सम्पर्कमा रहेको बयान दिएका छन्। एक वर्षदेखि नियमित फोन सम्पर्क र भेटघाट गर्दै आएको र मंगलवार पनि मोटरसाइकल चढेर रूपन्देहीकै गजेडी तालमा घुम्न गई साँझ बुटवलको एउटा होटलमा खाजा खाएर घर फर्किएको उनले प्रहरीसामु बताएका छन्।
बुधवार बिहान दीपालाई घरबाट जान भने पनि उनले आफू नजाने भनेपछि हत्या गरेको सुजनले प्रहरीलाई बताएका छन्। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाका अनुसार सुजनले हतौडा र चक्कु प्रहार गरी सुतिरहेको विस्तारामै तीन जनाको हत्या गरेका हुन्। नायब उपरीक्षक रानाका अनुसार घरमा भान्साको मर्मतको काम गरिरहेका अर्जुन रञ्जनले तीन जनाको शव देखेपछि इलाका प्रहरी कार्यालय बुटवलमा जानकारी दिएका थिए।
पाल्पाको बर्तुङ घर भएकी दीपा र प्रभास घर भएका सुजनले २०६९ साल असोजमा प्रेम विवाह गरेका थिए। सुजनको परिवारको प्रभाससँगै बुटवल होराइजनचोकस्थित मिलिजुलीपथमा पनि घर थियो। विवाहपछि उनीहरू बुटवलमै बस्न थाले। आर्थिक विषयमा सुजनको दाजु सुदिपसँग विवाद भएपछि उनले दाजुको हत्या गरे। सुजनले नै दाजुको हत्या गरेको पुष्टि भएपछि पुस २७ गते उनी कारागार चलान भए।
विवाह गरेको तीन महिनामै सुजन दाजुको हत्या अभियोगमा कारागार चलान भएपछि दीपाले र सुजनको २०७३ सालमा सम्बन्ध विच्छेद भएको थियो। सुजनसँग सम्बन्ध विच्छेद गरेकी दीपाले सोही वर्ष नवलपरासीको कावासोतीका शङ्कर ढकालसँग विवाह गरेकी थिइन्। शंकरले पनि पूर्वपत्नीसँग सम्बन्ध विच्छेद गरी दीपासँग विवाह गरेका थिए। हत्या गरिएका दुई छोरी हाल यूएईमा कार्यरत ढकाल र दीपा दम्पतीका हुन्।
डिभोर्स गरेर अर्कैसँग बिहेसमेत गरिसकेकी दीपा फेरि किन सुजनको घर गइन् भन्ने खुलेको छैन। उनीहरू फेरि कसरी नजिकिए र सुजनले दीपालाई कसरी आफ्नो घरमा बोलाए भन्नेबारे अनुसन्धान भैरहेको डीएसपी रानाले बताए।