रसुवागढी भन्सारमा मालवस्तु बोकेका १ सयभन्दा बढी गाडी बगेको प्रारम्भिक अनुमान

HTV Khabar २४ असार २०८२, मङ्गलबार ०१:३२ मा प्रकाशित

काठमाडौं,  रसुवागढी भन्सार र निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाह क्षेत्रमा १ सय भन्दा बढी गाडी बगेको प्रारम्भिक अनुमान गरिएको छ।

नेपाल इन्टरमोडलर विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार यसरी बगेकामध्ये अधिकांश मालवस्तु बोकेका सवारी साधन छन्।

इभी गाडी भने केही पर रहेका कारण कम क्षति पुगेको अनुमान गरिएको छ। ‘ठ्याक्कै कति गाडी थिए र क्षतिको विवरणबारे पछि नै खुल्छ, प्रारम्भिक अनुमान अनुसार १ सय भन्दा बढी गाडी बगेको अनुमान गरिएको छ,’ उनले भने।

यार्डमा २३० वटा सवारी साधन पार्किङ गरेर राखिएको थियो । केही गाडीहरु राति नै माथि सारिएको समेत जानकारी आएको उनले बताए। ‘अहिले घटनास्थलमा क्षतिको विवरण संकलन भइरहेको छ, त्यसपछि मात्र स्पष्ट हुनेछ,’ उनले भने।

नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष करण चौधरीका अनुसार अहिलेसम्म कति वटा गाडी बाढीले बगाएको र कुन कुन ब्राण्डका छन् भन्ने जानकारी आएको छैन। ‘तथ्यांक संकलनकै क्रममा रहेका छौं, सरकारसँग समन्वय गरिरहेका छौं’ उनले भने।