काठमाडौं, डिल्लीबजारको कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवन कुमार गुरुङ पक्राउ परेका छन्।
१४ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा उनी काठमाडौंबाट पक्राउ परेका हुन्। स्रोतका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले गुरुङलाई पक्राउ गरेको हो। गत २१ मंसिरमा विमानस्थलमा बरामद भएको १४ किलो सुन तस्करीमा उनको संलग्नता पुष्टि भएको थियो।
उनी १४ किलो सुन तस्करीका योजनाकार रहेको पाइएको थियो। त्यस यता उनी फरार अवस्थामा रहेका थिए। २१ मंसिरमा भन्सारले १४ किलो सुनसहित चन्द्र घलेलाई पक्राउ गरेको थियो। घलेलाई सुन तस्करीमा परिचालन गर्ने मिनबहादुर घलेलाई उनै गुरुङले काममा लगाउँदै आएका थिए।
गुरुङ वर्षौदेखि सुन तस्करी लगायत आपराधिक गतिविधिमा संलग्न रहेको स्रोत बताउँछ। उनको माओवादीका विद्यार्थी नेता दिपेश पुनसँग निकटता देखिएको थियो।