जापान पठाइदिने भन्दै २ करोड ६८ लाख ठगी गर्ने दुई जना पक्राउ

HTV Khabar २२ वैशाख २०८१, शनिबार ११:२२ मा प्रकाशित

काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जापान पठाउने भन्दै २१९ जनाबाट २ करोड ६८ लाख ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी ७ घर भई काठमाडौंको कागेश्वरी मनहरा बस्ने राजन श्रेष्ठ र झापाको गौरादहका ईश्वरी पाण्डे छन्।

उनीहरूले कन्सल्टेन्सी सञ्चालन गरेर विभिन्न व्यक्तिलाई जापान पठाउने प्रलोभनमा ठगी गरेको प्रहरीले जनाएको छ। उनीहरूले जापान पठाइदिने भन्दै २ सय बढी व्यक्तिबाट करिब ३ करोड ठगेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

नारायणबहादुर राईको नागरिकता दुरुपयोग गरी उनीहरूले नियोनी एजुकेशन कन्सल्टेन्सी दर्ता गरेर ठगी गर्दै आएका थिए। उनीहरूले नारायण बहादुर राई र पर्वराज पाण्डेको नाममा कन्सलटेन्सी चलाउँदै आएका थिए।

पुतलीसडकमा रहेको सोही कल्सलटेन्सीबाट अध्ययन तथा रोजगारीका लागि जापान पठाउने भनी ४ लाखदेखि ७ लाख रुपैयाँसम्म उठाउने गरेको पाइएको प्रहरीले जनाएको छ।