मूल्यसूची र दर्ता प्रमाणपत्र नराख्ने सन इन्टरेनसनल प्रालिलाई १ लाख जरिवाना

HTV Khabar १८ वैशाख २०८२, बिहीबार ०६:४९ मा प्रकाशित

काठमाडौं,  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ उद्योगलाई १ लाख २० हजार रुपैयाँ जरिवाना तिराएको छ। विभागले नियमित अनुगमन अन्तर्गत ११ उद्योग तथा फर्म अनुगमन गर्दा २ उद्योग तथा फर्मलाई उक्त जरिवाना तिराएको हो।

अनुगमन क्रममा विभागले काठमाडौं महानगरपालिका–२७ को सन इन्टरनेसनल इन्कर्पोरेट प्रालिलाई १ लाख रुपैयाँ र ललितपुर महानगरपालिका–१३ को नवीना सप्लायर्सलाई २० हजार रुपैयाँ जरिबाना तिराएको जनाएको छ।

सन इन्टरनेसनलले डेरी प्रडक्टहरूमा मूल्यसूची र दर्ता प्रमाणपत्र नराखेको भन्दै विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ट) को कसुर र सोही ऐनको दफा ३९ को १ (घ) बमोजिम तथा नवीना सप्लायर्सले अनुगमनमा सहयोग नगरेको भन्दै उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ड) को कसुर र सोही ऐनको दफा ३९ को १ (ङ) बमोजिम कारबाही गरिएको विभागले जनाएको छ।

यस्तै विभागले अनुगमन गरेकामध्ये ११ उद्योगलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ। विभागले गत मङ्गलवार पनि ४ उद्योगलाई ३ लाख ७५ हजार रुपैयाँ जरिवाना तिराएको थियो।