काठमाडौं, गाई मारेको आरोपमा झापा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापाको बारादशी गाउँपालिका वडा नम्बर ४ का ४६ वर्षीय पुदन आलम, उनकी श्रीमती ३९ वर्षीया कुरेसा खातुन, भारतको किसनगञ्ज घर भएका २० वर्षीय दिलवार हुसेन र उनकी श्रीमती १९ वर्षीय महिदा खातुन छन्।
प्रहरीका अनुसार मङ्गलवार राति झापाको कन्काई नगरपालिका–३ का लीलाप्रसाद सिलवालले आफ्नो गोठमा बाँधिएको गाई हराएको बताएका थिए। उनले राति १० बजेतिर इलाका प्रहरी कार्यालय सुरुंगामा गाई हराएको जानकारी गराएका थिए।
जानकारी पाएलगत्तै खटिएको प्रहरी टोलीले कन्काई नगरपालिका वडा नम्बर ३ टप्पु चोकस्थित लिला संग्रौलाको घरमा डेरा गरी बस्ने उनीहरूले चोरिएको गाईलाई मारेर मासु खाएर फरार भएको पत्ता लगाएको थियो।
तर, उनीहरू कोठाबाट भागिसकेका थिए। उनीहरूलाई मेचिपुलबाट भारततर्फ भागिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।