काठमाडौं, जिल्ला प्रहरी कार्यालय, सिराहाका एसपी सन्तोष आचार्यमाथि प्रहरी प्रधान कार्यालयले छानविन थालेको छ।
स्थानीय बिचौलिया नरेश साहसँग मिलेर गैरव्यवसायिक गतिविधिमा लागेको आरोप आचार्यमाथि छ।
साहलाई प्रहरी प्रधान कार्यालयको गोप्य टोलीले शनिबार पक्राउ गरेको छ। साह हुन्डी कारोबार तथा तस्करीको सेटिङ मिलाउने व्यक्तिका रूपमा चिनिन्छन्। उनको एसपी आचार्यसँग पनि निकटता देखिएको स्रोत बताउँछ। साहको मोबाइलका आधारमा छानविन सुरु भएको छ। एसपी आचार्य तीन महिनाअघि मात्र सिराहा सरुवा भएका हुन्।
यसअघि प्रहरी प्रधान कार्यालयले कार्यक्षमतामा कमजोर रहेका ६ एसपीलाई तानिसकेको छ। आचार्यको हकमा पनि कैफियत देखिएमा हटाउने सम्भावना छ।
त्यस्तै, सुनसरीका एसपी विपिन रेग्मीमाथि समेत उजुरी बढ्न थालेको छ। जिल्लामा समन्वय राम्रो गर्न नसकेको र तस्करी समेत बढेको भनेर प्रहरी प्रधान कार्यालयमा रिपोर्टिङ भएको छ।