सर्लाहीमा नक्कली नोटसहित पाँचजना पक्राउ

HTV Khabar २८ फाल्गुन २०८१, बुधवार १२:०२ मा प्रकाशित

सर्लाही,  सर्लाही सदरमुकाम मलङ्गवाबाट नेपाली नक्कली नोटसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरका ४२ वर्षीय खुर्सैद भन्ने सुल्तान मंसुर, रौतहटको गढीमाई नगरपालिका–९, चिलमिलियाका ५६ वर्षीय रामनारायण सहनी, सर्लाहीको धनकौल गाउँपालिका–७, बैरियाका ४८ वर्षीय दुलार सहनी, सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२, का ५० वर्षीय रामपृत सहनी र ब्रह्मपुरी गाउँपालिका–२, कै ३५ वर्षीया सिहानता कुमारी देवी रहेका छन्।

सस्तो मूल्यमा नक्कली नोट  बिक्री गर्ने र मौका मिलेमा लुटपाट गर्ने गिरोहलाई नक्कली नोटसहित नोट बनाउने कार्यमा संलग्न पाँच जनालाई मलङ्गवा नगरपालिका–८, गोरखकाली नाकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक रविन्द्रबहादुर सिंहले एचटिभी खबरलाई बताए। 

भारततर्फबाट बा.४७ प ८७५७, बीआर ३० सी ४७६६ र बीआर ३० एआई ३०४९ नम्वरको मोटरसाइकलमा नेपाल आउँदै गर्दा सूराकीको आधारमा खानतलासी गर्दा उनीहरूको साथबाट नक्कली नोट बरामद भएको सर्लाही प्रहरीले जनाएको छ।



उनीहरुको साथबाट नेपाली नक्कली एक हजार दरको तलमाथि एकरएक वटा नोट राखेर बीचमा सेतो पेपर राखेर बनाइएको ८८ थान बण्डलमा नक्कली नेपाली रुपैयाँ १७६ थान (एक लाख ७६ हजार रुपियाँ) बरामद गरेको छ। उनीहरुमाथि मुद्रा सम्बन्धी कसूरमा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ।