भोलिदेखि काठमाडौंमा तीनदिने आँप महोत्सव हुने

HTV Khabar ७ असार २०८१, बिहीबार ०८:३८ मा प्रकाशित

काठमाडौं, प्रथम नेपाल आँप फेस्ट-२०८१ शुक्रवारदेखि काठमाडौंमा हुने भएको छ। किसान भेञ्चर र काठमाडौं अर्गानिक्सको संयुक्त आयोजनामा आँप फेस्ट आईतवारसम्म चल्नेछ।


नेपाली आँपको प्रचलन बढाउनु, नेपाली किसानलाई प्रोत्साहित गर्नु र उपभोक्तालाई विषादीरहित स्वास्थ्य आँपको पहुँच पुर्‍याउनु फेस्टको उद्देश्य रहेको आयोजकले जनाएको छ। सर्लाही, सप्तरी र सिराहाका ५० जना किसानबाट आँप ल्याएर फेस्ट आयोजना गर्न लागिएको हो।

फेस्टमा प्राकृतिक रूपमा पाकेका वा पकाइएका मालदह, जर्दा, बम्मई, गुलाब खास, अम्रपाली, कलकत्तिया, दसहरीलगायत १५ प्रकारका आँपहरू उपलब्ध हुनेछन्।

फेस्टको उद्घाटन पानीपोखरीस्थित वालनट बिस्ट्रोमा हुनेछ। काठमाडौं अर्गानिक्स, उत्पला क्याफे र द गार्डेनमा आँप र आँपबाट बनेका विभिन्न उत्पादनहरू प्रदर्शनी एवं बिक्रीमा राखिने छ। तीनदिने फेस्टमा तीन हजार बढी अवलोकनकर्ताबाट २५ हजारदेखि ३० हजार किलो आँप बिक्री गर्ने लक्ष्य राखिएको छ।


फेस्टको नारा ‘नेपाली उत्पादनलाई समर्थन गरौं, ताजा र स्वादिलो आँपको आनन्द उठाऔं’ रहेको छ।