स्वास्थ्यमन्त्री पौडेल र प्रदेश खानेपानीमन्त्री खड्कालाई बूढानीलकण्ठ काङ्ग्रेसद्वारा सम्मान

सबिन पन्त 'पृथक' २० श्रावण २०८१, आइतबार ०५:५० मा प्रकाशित

काठमाडौं, बूढानीलकण्ठमा संघीय स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र बागमति प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिँचाईमन्त्री श्याम बहादुर खड्कालाई सम्मान गरिएको छ।

नेपाली काँग्रेस बूढानीलकण्ठ नगर कार्यसमितिले शनिवार होटल अमुप्रस्थ इभेन्ट्समा एक कार्यक्रम आयोजना गरेर प्रदेश सांसद मिना पराजुली, पूर्वसंघीय सांसद दिव्यमणि राजभण्डारीलगायत महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिलगायत पार्टीको विभिन्न तहमा रहेर काम गरिरहेका व्यक्तिहरूको उपस्थितिमा मन्त्रीद्वयलाई सम्मान गरेको हो। 

स्वास्थ्यमन्त्री पौडेल काठमाडौं क्षेत्र नं ५ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् भने खड्का क्षेत्र नं ५ का सभापति एवं प्रदेश सांसद एवं मन्त्री हुन्। कार्यक्रममा नगरसभापति राजाराम बुढाथोकीले सम्मानपत्र हस्तान्तरण गरेका थिए।

बूढानीलकण्ठ नगर सचीव बिजेन्द्र श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा बोल्दै पौडेल र खड्काले पार्टीको नगर समितिले गरेको सम्मानले आफ्नो जिम्मेवारी र कर्तव्यबारे सचेत रहने प्रतिबद्धता व्यक्त गरे। उनीहरूले आफ्नो काममा निरन्तर खबरदारी र सल्लाह सुझावको सधैं खाँचो रहने बताए।