ड्युटीमा तैनाथ प्रहरीलाई कुटपिट गरेको आरोपमा अखिल नेता पक्राउ

HTV Khabar २ फाल्गुन २०८१, शुक्रबार ११:२१ मा प्रकाशित

काठमाडौं, काठमाडौँको ठमेलमा प्रहरीलाई कुटपिट गरेको आरोपमा अनेरास्ववियुका नेता कमल जोशी पक्राउ परेका छन्। उनलाई प्रहरीले विहिवार साँझ नयाँ बानेश्वरबाट पक्राउ गरेको हो।

सत्तारूढ दल नेकपा एमालेको भातृ संगठनका नेता जोशीलाई जोगाएको भन्दै संसदमा समेत चर्को विरोध भएको थियो। यसअघि ताप्लेजुङको फुङलिङ्ग नगरपालिका १ घर भई हाल काठमाडौँको लैनचौर बस्ने २५ वर्षका दिनेश सिग्देल र डडेलधुराको गन्यापधुरा गाउँपालिका ५ घर भई लैनचौरमै बस्ने २२ वर्षका रमेश फुलारालाई प्रहरीले पक्राउ गरिसकेको छ।

उनीहरु सबैलाई प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिएको छ। माघ २४ गते उनीहरूको समूहले प्रहरी वृत्त दरबारमार्गको क्वीक रेस्पोन्स टीम (क्युआरटी) माथि आक्रमण गरेको थियो। यसअघि पक्राउ परेका दुई जनालाई अभद्र व्यवहारको कसुरमा प्रहरीले अनुसन्धान थालेको छ।