काठमाडौं, गएरातिको पानीले बाटो अवरुद्ध हुँदा धादिङको बैरेनी क्षेत्रमा सवारी साधनको लामो लाइन लागेको छ। गल्छी गाउँपालिका वडा नम्बर ६ बर्दखोला बैरेनी पुल नेर लेदो माटो जम्मा भएपछि सवारी साधनको जाम भएको हो।
त्यहाँ पुलको दुवैतर्फ निर्माणकार्य जारी छ। राति पानी परेपछि बाटो पूर्णरुपमा बन्द थियो। सामान्य मर्मत गरेर केहीबेर एकतर्फी बाटो खुलाए पनि फेरि बन्द हुँदा सवारी साधनको लामो लाइन लागेको हो।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता मकेन्द्र कुमार मिश्रले सो क्षेत्रमा बाटो खुल्ने र बन्द हुने क्रम जारी रहेकाले सवारी साधन सहज रुपमा सञ्चालन हुन नसकेको बताए। ‘अहिले पनि बाटो डिस्टर्ब नै छ,’ उनले भने।
बाटो खुलाउने प्रयासमा गजुरी प्रहरीका डिएसपी डिल्लीनारायण पाण्डेको नेतृत्वमा ट्राफिक प्रहरीसमेत खटिएको छ। तर बाटो सहज नहुँदा यात्रुहरु मर्कामा परेका छन्।प्रहरीले स्थानीय एफएमहरुबाट बाटो बन्द भएको सूचनासमेत प्रवाह गर्दै आएको छ।