काठमाडौं, मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले सिरहाकी रिंकुकुमारी सादयको मृत्यु घटनामा छानबिन गर्न समिति गठन गरेको छ।
सामूहिक बलात्कारमा परेकी सिरहाकी १७ वर्षीया रिंकु मृत भेटिएको घटना अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालयले एसएसपीको नेतृत्वमा छानबिन समिति बनाएको हो।
मधेश प्रहरी कार्यालय जनकपुरले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाको नेतृत्वमा छानबिन समिति गठन गरिएको जनाएको छ।
समितिले मंगलवार नै घटनाबारे बुझ्ने र अनुसन्धानसमेत थालिसकेको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ। गत माघ ३० गते सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर टोलस्थित बिगुल सदायकी छोरी रिंकु आफ्नै घरमा मृत फेला परेकी थिइन्।
रातको समयमा शौच गर्न घर बाहिर निस्कँदा उनी सामुहिक बलात्कारको शिकार भएकी थिइन्। रिंकुकुमारी माघ ३० गते झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। घटना हुनुअघि उनीमाथि स्थानीय तीन जना युवकले सामूहिक बलात्कार गरेको र उक्त घटना मिलाउन खोजिएको थियो।