प्रधानमन्त्री केपि ओलिविरुद्धको मुद्दामा मागदाबी नपुग्ने सर्वोच्चको फैसला

HTV Khabar २८ फाल्गुन २०८१, बुधवार १०:२२ मा प्रकाशित

काठमाडौं,  सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा मागदाबी नपुग्ने फैसला गरेको छ।

न्यायाधीशहरु हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बुधबार यस्तो फैसला गरेको हो। यसअघि, न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आफैंँ उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश गरेको थियो।

सोही आदेशअनुसार २०७७ फागुन ६ गते प्रधानमन्त्री ओली आफै उपस्थित भएर लिखित जवाफ पेस गरेका थिए।

संवैधानिक इजलासमा विचाराधीन रहेको तत्कालीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाका विषयमा टिप्पणी गरेको र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गरेर अभिव्यक्ति दिएको उल्लेख गर्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपाने २०७७ माघ १३ गते अवहेलनाको निवेदन दायर गरेका थिए।