सर्लाहीमा मापदण्डविपरीतका सात क्रसर उद्योग बन्द

HTV Khabar १२ पौष २०८१, शुक्रबार ०७:१२ मा प्रकाशित

काठमाडौं,  जिल्ला प्रशासन कार्यालयले सर्लाहीमा थप सात वटा क्रसर उद्योग पूर्ण रूपमा बन्द गराएको छ।

जिल्ला अनुगमन उपसमितिका संयोजक तथा जिल्ला समन्वय समिति सर्लाहीका उपप्रमुख जितेन्द्रकुमार महतोको नेतृत्वमा केही दिन यता आक्रामक रूपमा खटिएको टोलीले मापदण्डविपरीत सञ्चालित क्रसर उद्योग बन्द गराउने अभियान नै चलाएको छ।

जसअनुसार टोलीले बरहथवा, बागमती र बसबरियाका सात वटा क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको हो। टोलीले अभिनित वासिङ उद्योग र अभिनित ढुंगा क्रसर उद्योग बसबरिया–३, बरहथवा गिट्टी बालुवा प्रशोधन तथा सप्लायर्स बरहथवा–८, राहुल गिट्टी बालुवा वासिङ सेन्टर बरहथवा–८, गौतम गिट्टी बालुवा प्रशोधन उद्योग बरहथवा–१, हजरिया बालुवा गिट्टी प्रशोधन कम्पनी बरहथवा–१, सर्लाही बालुवा प्रशोधन एण्ड क्रसर उद्योग हजरिया र बालुवा वास प्लान्ट बागमती–१२ लाई बन्द गर्न पत्र थमाएको हो।

यी सात वटै क्रसर उद्योग ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी पहिलो संशोधन मापदण्ड–२०७९ विपरीत सञ्चालनमा रहेकाले तत्काल बन्द गर्न निर्देशन दिइएको अनुगमन टोलीका सदस्य एवं सर्लाहीका निमित्त प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए।

जिल्ला अनुगमन उपसमितिले हिजो मात्रै फूलजोर बाबा बालुवा तथा गिट्टी प्रशोधन उद्योग ईश्वरपुर–५, शुुभम एग्रिगेट इण्डष्ट्रिज ईश्वरपुर–५, सिद्धिविनायक एग्रिगेट इण्डष्ट्रिज हरिपुुर–८ र राजदेवी माई बालुवा गिट्टी ढुंगा वासिङ प्रालि हरिपुर–५ लाई पत्र दिएर तत्काल उद्योग बन्द गर्न निर्देशन दिएको थियो।

यसअघि गएको मंगलवार र शनिवार जिल्ला समन्वय समितिका प्रमुख र जिल्लाका सुरक्षा प्रमुखहरू सम्मिलित जिल्ला अनुगमन समितिले लालबन्दी–१७, रानीगञ्जको  क्रसर उद्योग, बागमती–७, को जय माँ दुर्गा र बागमती–४, को हरेकृष्ण क्रसर उद्योगलाई पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको थियो।