उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सकियो छठ पर्व

HTV Khabar ४ मंगशिर २०८०, सोमबार ०९:५६ मा प्रकाशित
जनकपुरधाम,  आज बिहान उदाउँदो सूर्य अर्थात् दिनानाथलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न भएको छ। श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठ पर्व बिहान उदाउँदो सूर्यलाई पूजा सामग्रीसहित अर्घ्य दिएपछि छठ विधिवत सम्पन्न भएको हो।

चार दिनसम्म अत्यन्त नियम निष्ठापूर्वक मनाइने छठपर्वको हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो भने आज उदाउँदो सूर्यलाई अर्घ्य दिइएको हो।


पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने कामनासहित आदि देव सूर्यको उपासना गरी अत्यन्त श्रद्धापूर्वक छठ पर्वक मनाइन्छ। छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ।


छठपर्वको पहिलो दिन ब्रतालुले नुहाएर अरबा अरबाईन भोजन गरेका थिए। दोस्रो दिन साँझ चाकुमल, दूध र सक्खर मिसाएर बनाइएको खीर प्रसादको रुपमा चढाउँदै ग्रहण गरेका थिए। तेस्रो दिन हिजोअस्ताउँदो सूर्यलाई पूजासमाग्रीसहित अर्घ्य दिएका थिए। चौथो दिन आज उदाउँदो सूर्यको अर्घ्य दिएपछि छठ पर्व विधिवत समापन भएको हो।अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिनलाई सौझकारक र अन्तिम दिनलाई पारन भनिन्छ।


यस पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लागयतको सामग्रीहरु चढाइन्छ। त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफूल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ। अर्घ्य दिइएका छठ पूजाको सामग्री प्रसादको रुपमा ग्रहण गर्ने तथा वितरण गर्ने मिथिलाञ्चलमा प्रचलन रहेको छ।

सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ।पहिला मिथिलाञ्चलसहित तराई मधेशका बासिन्दाले मात्र मनाउने छठ पर्व पछिल्लो पहाडका बासिन्दाले समेत मनाउन थालेका छन्।