वीपी राजमार्ग पुनर्निर्माण : दोस्रो खण्डको पनि ठेक्का आह्वान, साढे दुई अर्ब लागत

HTV Khabar ४ चैत्र २०८१, मङ्गलबार १०:४२ मा प्रकाशित

काठमाडौं, गत असोजमा बाढी बगाएर क्षतिग्रस्त बनेको वीपी राजमार्ग पुनर्निर्माणको काम धमाधम अगाडि बढेको छ। ।

मङ्गलवार भक्तपुर सडक डिभिजनले दोस्रो खण्डको पनि ठेक्का आह्वान गरेको हो। यस अघि गत हप्ता सिन्धुली सडक डिभिजनले सिन्धुली खण्डको ठेक्का निकालेको थियो।

यो पटक काभ्रेतिरको दोस्रो खण्ड पुनर्निर्माणको लागि ठेक्का आह्वान भएको हो। यसको लम्बाई लगभग ८ किलोमिटरको रहेको छ। यो खण्ड दल्लाबेसीदेखि चरसयाबेसीसम्म रहेको छ।

यसका लागि साढे दुई अर्ब रुपैयाँ बजेट छुट्याइएको डिभिजनले जनाएको छ। यसमा आवेदन दिने निर्माण कम्पनीले साँढे ६ करोड रुपैयाँ ‘सेक्युरीटी’ बापत राख्नु पर्ने हुन्छ। अब दुईवटा खण्डको ठेक्का आह्वान मात्रै बाँकी रहेको छ। त्यसमा पनि एउटा खण्ड निर्माणको लागि अझै जापानलाई दिने गरि ‘वेटिङ लिस्ट’मा छ।

३० दिनसम्म आवेदन दिने म्याद राखिएको छ। त्यसपछि प्राविधिक र आर्थिक मूल्यांकन गर्ने काम गर्दा साढे दुई महिना जतिमा ठेक्का सम्झौता हुन्छ। यसको समयावधि भने दुई वर्षको हुनेछ। सरकारले सबै खण्ड निर्माण गर्न साढे ८ अर्ब बजेटको स्रोत सुनिश्चिता गरेको छ।