काठमाडौं, चितवनबाट हालसम्म १७ जना महिलासहित १०५ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन्।
जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकालले दिएको जानकारी अनुसार गत कात्तिक १५ गतेदेखि हालसम्म १०५ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका हुन्।
गैरआवासीय नेपाली नागरिकता लिनेमा अष्ट्रेलिया र अमेरिका गएकाहरु धेरै छन्। ढकालले दिएको जानकारी अनुसार गैरआवासीय नेपाली नागरिकता लिनेमा चितवन जिल्ला देशभरीका जिल्लामा शीर्ष पाँच जिल्ला भित्र पर्दछ। ‘कहिलेकाहिँ दिनमै ४५ जना नै गैरआवासीय नागरिकता लिनका लागि आउने गर्दछन्,’ प्रशासकीय अधिकृत ढकालले बताए।
सरकारले २०८० असोज ३० गतेदेखि गैरआवासीय नेपाली (एनआरएन) लाई नागरिकता दिन थालेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत ३० असोजमा गैरआवासीय नेपाली संघका तत्कालीन अन्तर्राष्ट्रिय समन्वय परिषद अध्यक्षहरु कुल आचार्य र बद्री केसीबाट गैरआवासीय नेपाली नागरिकता वितरण सुरु गरेका थिए। आचार्यको जिल्ला प्रशासन कार्यालय पर्वतबाट र केसीको काठमाडौंबाट नागरिकताको प्रमाणपत्र जारी भएको थियो।
एनआरएन नागरिकता लिएपछि नेपालमा लगानी गर्न, व्यापार व्यवसाय गर्न र पैतृक सम्पत्ति उपभोग तथा बेचबिखन गर्न पाइन्छ।