काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. ६ द्वारा वडाभित्र रहेका सामुदायिक विद्यालय र सामाजिक संघसंस्थाहरुलाई खेलकुद तथा वाद्यवाधन सामाग्री प्रदान गरिएको छ।
वडाध्यक्ष भुवन लामाको सभापतित्वमा तथा बागमती प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा वडाभित्र रामहिटी अवस्थित श्री नव जागृति माध्यमिक विद्यालय, बौद्ध अवस्थित श्री महेन्द्र बौद्ध माध्यमिक विद्यालय र महाँकाल अवस्थित श्री जनकल्याण माध्यमिक विद्यालयलाई खेलकुदका विभिन्न सामाग्रीहरु हस्तान्तरण गरिएको हो।
खेलकुद सामाग्रीमा ड्रम, क्यारेम बोर्ड, फूटबल, भलिबल नेटसहित, बास्केटबल नेटसहित, चेस, लुडो आदि प्रदान गरिएको थियो।
त्यस्तै वडाभित्रै रहेका आमा समूह, मन्दिर भजन किर्तन समूह र नेवारी सांस्कृतिक समूह गरि एघार समूहलाई हार्मोनियम, तबला, खैजेडी, गितार र मादल, मजिरा, धिमेबाजा, डम्फुलगायतका सामाग्री हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा बोल्दै उपस्थित वडाबासी बौद्धिक व्यक्तिहरुले वडाध्यक्ष, वडा सदस्य कर्मचारीले गरेको सराहनीय कार्यहरूको प्रसंशा गरेका थिए।