आजदेखि न्युरोड क्षेत्रको सडकमा पार्किङ गर्न नपाइने

HTV Khabar ९ माघ २०८०, मङ्गलबार १०:२२ मा प्रकाशित

काठमाडौं, काठमाडौं महानगरपालिकाले आजदेखि न्युरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङ गर्न नदिने भएको छ। यसको विकल्पमा महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङको व्यवस्था मिलाइने जनाएको छ।


महानगरका अनुसार त्यहाँ तीन सयवटा चारपांग्रे सवारीसाधन र सात सयवटा दुईपांग्रे सवारीसाधन पार्किङ गर्न सकिनेछ। न्युरोड क्षेत्रमा पार्किङमा रोक लगाउन लागिएको बारे महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी (वरिष्ठ उपरीक्षक) राजुनाथ पाण्डेले भनेका थिए, ‘भोलिदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएका छौँ। यसले सवारी आवागमनमा सहज बनाउने अपेक्षा गरेका छौँ।’


उनकाअनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल आसपासको कालोपत्रे सडकमा पार्किङ निषेध गरिनेछ।यसअघि झोंछे क्षेत्रमा सवारीसाधन पार्किङ निषेध कार्यान्वयन गरिसकिएको छ।