काठमाडौं, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसदलाई सहज ढंगले अघि बढाउने कुरामा सबै राजनीतिक दलहरूले ध्यान दिनुपर्ने बताएका छन्।
आईतवार काठमाडौंमा आयोजित पेसागत महासंघको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले त्यो कुरा बताएका हुन्। उनले अहिले सहमतिसहित जानु नै राम्रो हुने त्यसो नभए ठूलो संकटमा परिने बताए।
नीति तथा कार्यक्रममा छलफल गर्ने ढोका नखोल्ने हो भने संवैधानिक जटिलता खडा हुन्छन् भन्ने कुरा ध्यानमा राख्नुपर्ने नेपालले बताए।
अध्यक्ष नेपालले संसद् अवरोधबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग कुराकानी भएको बताए।
उनले सदनको अवरोध हटाउनु नै सबैको हितमा हुने उल्लेख गरे । प्रधानमन्त्रीले सहमतिका लागि गरिरहेका प्रयत्न सराहनीय रहेको उनले बताए।
अध्यक्ष नेपालले आफ्नो पार्टी सरकारमा भएकाले प्रधानमन्त्री प्रचण्डलाई सोमबार विश्वासको मत दिने पनि स्पष्ट पारे।
उनले नैतिकताको प्रश्न पनि उठ्ने भएकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैनन् भनेर शंका नगर्न आग्रह गरे। प्रधानमन्त्री दाहालले मंगलबार चौथो पटक विश्वासको मत लिने तयारी गरेका छन्।
अध्यक्ष नेपालले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीको तर्फबाट मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरिसकेको बताउँदै कोशीमा आफूहरूले विश्वासको मत दिएको स्मरण गराए।
अध्यक्ष नेपालले सबैलाई समेटेर जाने गरी आफूहरूले प्रयास गरे पनि यसै भन्न सक्ने अवस्था नरहेको दाबी गरे।
आफूहरुले देशमा स्थिरता, सहमति र सहकार्य होस भन्ने चाहेकाले देशभक्त लोकतान्त्रिक शक्तिहरु एक हुन आवश्यक नेपालले बताए।