काठमाडौं, गोंगबु आवास क्षेत्र सुधार समितिको पहल र काठमाडौं महानगरपालिकाको सहयोगमा निर्माण भएको पार्कको उद्घाटन गरिएको छ।
समिति अध्यक्ष पाण्डवकुमार श्रेष्ठको अध्यक्षतामा आइतबार एक समारोहमाझ काठमाडौं–२६ का वडा अध्यक्ष ख्याम तिवारीले नवनिर्मित पार्कको उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहमा काठमाडौंका प्रमुख बालेन शाह प्रमुख अतिथिका रूपमा उपस्थित हुने भनिए पनि कार्यव्यस्तताका कारण नआएपछि सबै काम वडा अध्यक्ष तिवारीले नै गरेका थिए। समारोहमा विशेष अतिथिका रूपमा नगर विकासका योजना प्रमुख प्रकाश ढुंगाना र वडासदस्य प्रवेश श्रेष्ठ, गोंगबु आवास समितिका निवर्तमान अध्यक्ष तथा क्लबका अध्यक्ष महेश्वरकुमार श्रेष्ठ थिए।
कार्यक्रममा गोंगबु आवास समितिका संस्थापक अध्यक्ष हरि कर्माचार्य, सबै पूर्वअध्यक्षहरूको उपस्थिति थियो। हजारौं टोलबसीको उपस्थितिमा भएको कार्यक्रममा शिलालेख र यस कार्यकालको समिति सदस्यहरूको नामसमेत उल्लेख गरिएको शिलालेख वडाअध्यक्ष तिवारीबाट उद्घाटन गरिएको थियो।