काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमणका लागि आज बेइजिङ जाँदै छन् । चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भएको साढे चार महिनापछि ओलीको यो पहिलो औपचारिक विदेश भ्रमण हो।
प्रधानमन्त्री ओली आज बिहान ११ बजे हिमालयन एयरलाइन्सको जहाजबाट बेइजिङ जाँदैछन्। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले मंगलबार चीनका राष्ट्रपति, प्रधानमन्त्री र चिनियाँ कंग्रेसका अध्यक्षसँग भेटवार्ता गर्ने कार्यतालिका छ।
प्रधानमन्त्री ओलीले नेपाली प्रतिनिधिमण्डल सहित र एक्लाएक्लै समेत भेटवार्ता गर्ने कार्यतालिका रहेको छ भने मंसिर १८ गते नै दुइपक्षवीच महत्वपूर्ण सम्झौतामा हस्ताक्षार गर्ने कार्यतालिका रहेको छ।
भ्रमणको तेस्रो दिन बुधवार प्रधानमन्त्री ओलीले नेपाली र चिनियाँ व्यापारीहरुको भेलालाई सम्बोधन गर्नुहुनेछ भने केही स्थानको अवलोकन समेत गर्ने कार्यक्रम रहेको छ।
साँझ नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुहुनेछ। त्यही दिन प्रधानमन्त्री ओलीले बेइजिङ पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई समेत सम्वोधन गर्ने कार्यक्रम छ।
प्रधानमन्त्रीकोचीन भ्रमणमा विकाशका पूर्वाधारलगायत कनेक्टिभी ब्यापारलगायतमा सम्झौता गर्ने तयारी भइरहेको समेत परराष्ट्रमन्त्रालयले जानकारी दिएको छ।
प्रधानमन्त्रीको यसपटकको चीन भ्रमणको कार्यतालिका निकै ब्यस्त रहेको र निश्चितबाहेक अन्य केही कार्यक्रम नरहेको परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृत राईले बताए।
प्रधानमन्त्री ओली चीनको चार दिने भ्रमण पूरा गरी विहिवार दिउँसो स्वदेश फर्कनेछन्। प्रधानमन्त्रीको भ्रमण टोलीमा सरकारी र निजी क्षेत्रका गरी झन्डै ९० जना सहभागी हुनेछन्।