एआईजी अधिकारी नेतृत्वको टोली स्वदेश फिर्ता

HTV Khabar १५ मंगशिर २०८२, सोमबार ०८:४७ मा प्रकाशित

काठमाडौं,  प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी नेतृत्वको टोली मोरक्कोबाट स्वदेश फिर्ता भएको छ।

इन्टरपोल महासचिवालयको आयोजनामा मोरक्कोको माराकेचमा मंसिर ८ गते देखि ११ गतेसम्म सञ्चालन भएको इन्टरपोलको ९३औं महासभामा सहभागी भई एआईजी अधिकारीसहितको टोली आइतबार स्वदेश फिर्ता भएको हो।

उक्त महासभामा अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको रोकथाम तथा न्यूनीकरणको लागि इन्टरपोलको विभिन्न नीति निर्माणका प्रकृयाहरूको सम्बन्धमा सम्पूर्ण सदस्य राष्ट्रहरूको सहभागितामा छलफल भएको तथा इन्टरपोलको कार्यकारिणी समितिको विभिन्न रिक्त पदहरूको लागि निर्वाचन समेत भएको थियो।

उक्त महासभामा इन्टरपोलका सबै १९६ सदस्य राष्ट्रहरूका प्रतिनिधिहरू सहभागी रहेको र इन्टरपोलको महत्त्वपूर्ण विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि उक्त मतदानमा भाग लिएको थियो। साथै उक्त महासभाबाट इन्टरपोलको नयाँ अध्यक्षको रूपमा फ्रान्सका लुकास फिलिप नियुक्त भएका छन्।

प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीको नेतृत्त्वमा सहभागी भएको प्रतिनिधि मण्डलद्वारा इन्टरपोलका अध्यक्ष तथा महासचिवसँग शिष्टाचार भेटघाट एवम् मित्रराष्ट्रहरू कतार, भारत, फ्रान्स, जापान, मलेसिया, साउदी अरब र यूएईका प्रतिनिधीहरूसँग समसामयिक विषय तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वयमा थप प्रभावकारी बनाउने लगायतका विषयहरूमा द्विपक्षीय बैठक समेत भएको थियो।

उक्त महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीसँग इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्का समेत मंसिर ६ गते मोरक्को प्रस्थान गरेका थिए।