म अहिलेको प्रधानमन्त्रीभन्दा राम्रो काम गर्नसक्छु : गगन थापा

HTV Khabar १४ माघ २०८१, सोमबार ०६:३९ मा प्रकाशित

काठमाडौं,  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेका प्रधानमन्त्रीले भन्दा आफूले राम्रो काम गरेर देखाउनसक्ने बताएका छन्।

आईतवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यसअघिका, हालका वा अब बन्ने प्रधानमन्त्रीभन्दा आफू लगायत युवा पुस्ताबाट बन्ने प्रधानमन्त्रीले बढी राम्रो काम गरेर देखाउने बताएका हुन्।

अहिलेको भन्दा राम्रोसँग देश चलाउँछु भन्ने विश्वासकै कारण कांग्रेसको संसदीय दलको नेताका लागि पहल गरेको बताउँदै उनले अबको दशक खेर फाल्न नहुने जनाए।

महामन्त्री थापाले भने, “म भनेको हामी, म अहिलेको प्रधानमन्त्री वा हुनेवाला प्रधानमन्त्री वा अस्ति भर्खर हुनुभएका प्रधानमन्त्रीहरू भन्दा हामी राम्रो प्रधानमन्त्री चलाउन सक्छौं भन्ने कुरा म अहिले पनि विश्वास गर्छु।

आजको प्रधानमन्त्रीको ठाउँमा आजै बेलुका गएर हामीमध्ये कसैलाई प्रधानमन्त्री बनाउने हो भने अहिले चलाएको भन्दा राम्रो चलाउँछौं यति कुरा दाबाका साथ भन्नसक्छु। त्यही चलाउँछौं भन्ने विश्वासका साथ बन्ने प्रयास पनि गरेको हो। म जिम्मा लिन्छु भनेर गएको पनि हो।

ती प्रयासबाट आएका परिणामहरूलाई पनि स्वीकार्नुपर्छ।”महामन्त्री थापाले नेपाली नागरिकको समुन्नति अबको आवश्यकता भएको र अबको मुद्दा नेपालमै नागरिकलाई आत्मसम्मानका साथ जीविकोपार्जन गर्नसक्ने हुनुपर्ने बताए।