काठमाडौं, जेनजी आन्दोलनका क्रममा भदौ २४ गते महाराजगन्जमा दुई प्रहरीको हत्या भएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
काठमाडौं प्रहरीको विशेष टोलीले काभ्रेका युवराज क्यापछाकीलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु गरेको हो।
भदौ २४ गतेको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले प्रहरी वृत्त महाराजगन्जमा कार्यरत मिलन राय र उत्तम थापामाथि कुटपिट गरी हत्या गरेका थिए।
घटनामा संलग्न रहेको प्रमाणको आधारमा क्यापछाकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीका अनुसार घटनाको तस्बिर र भिडियो विश्लेषण गरेर संलग्नलाई पहिचान गर्ने कार्य जारी छ। तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएकामाथि पनि अनुसन्धान तीव्र पारिएको छ।