काठमाडौं, इलेन मेमोरियल स्कुलका विद्यार्थीहरूले मन्दिरको सरसफाइ गरेर विश्व वातावरण दिवस मनाएका छन्।
जुन ५ मा मनाइने वातावरण दिवसमा प्राय: विरुवा रोपेर मनाउने परम्परा रहेपनि, यस वर्ष इलेन मेमोरियल स्कुलले विद्यार्थीहरूलाई सरसफाईप्रति सक्रिय गराउने उद्देश्यका साथ यो विशेष कार्यक्रम आयोजना गरेको हो।
यस अभियानमा कक्षा ५ भन्दा माथिका विद्यार्थीहरूले सहभागिता जनाएका थिए।
विश्व वातावरण दिवसको अवसरमा, नागार्जुन नगरपालिका वडा नम्बर ५ मा अवस्थित इलेन मेमोरियल स्कुलका विद्यार्थीहरूले आदेश्वर मन्दिर,सीतापाइला मन्दिर र इचंगु नारायण मन्दिर परिसरमा सरसफाई अभियान सञ्चालन गरेको विद्यालयका प्रिन्सिपल जयराम चापागाईंले एचटिभी खबरलाई बताए।
यस्ता कार्यक्रमहरूले बालबालिकाहरूमा समूहमा कामगर्ने बानीको विकास हुनुका साथै उनीहरूलाई धार्मिक सम्पदाको संरक्षणमा जुट्न पनि प्रोत्साहन मिल्ने चापागाईंले बताए। विद्यार्थीहरूले उत्साहपूर्वक मन्दिर परिसरमा फोहोर संकलन गरी सरसफाईमा जुटेका थिए। उनीहरूले झाडु लगाएर र फोहोरका झोलाहरूमा संकलन गरेर मन्दिर क्षेत्रलाई सफा र सुन्दर बनाएका थिए।
यस सरसफाई अभियानले वातावरण संरक्षणमा युवा पुस्ताको सक्रिय सहभागितालाई जोड दिएको छ। साथै, यसले विद्यार्थीहरूलाई आफ्नो समुदायप्रति जिम्मेवार बनाउन र धार्मिक तथा सांस्कृतिक सम्पदाको महत्व बुझाउन मद्दत पुर्याएको छ। इलेन मेमोरियल स्कुलको यो पहल अन्य विद्यालय र समुदायका लागि पनि प्रेरणादायी बन्न सक्ने देखिन्छ।