नेपाली चिकित्सकलाई बेलायतमा अन्तर्राष्ट्रिय मान्यता

HTV Khabar ३ मंगशिर २०८१, सोमबार ०५:०५ मा प्रकाशित

काठमाडौं,  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा.लोचन कार्की बेलायतको प्रतिष्ठित रोयल कलेज अफ फिजिसियन्स अफ एडिनबर्गको एशियाली क्षेत्रीय सल्लाहकारमा निर्वाचित भएका छन्।

रोयल कलेजले डा. कार्कीलाई पठाएको पत्रमा उनी पाँच वर्षे कार्यकालका लागि निर्वाचित भएको जनाएको छ। उनको कार्यकाल सन् २०२९ को अक्टोबरसम्म रहनेछ।

क्षेत्रीय सल्लाहकारको रूपमा डा. कार्कीले एशियाली स्वास्थ्य गतिविधिहरूको व्यवस्थापन, नीति निर्माण र क्षेत्रीय स्वास्थ्य कार्यक्रमहरू सञ्चालन गर्ने जिम्मेवारी पाएका छन्।

निर्वाचित भएपछि प्रतिक्रिया दिँदै डा.कार्कीले भने, ‘यो निकै खुसीको कुरा हो। यस उपलब्धिले नेपाली चिकित्सा समुदायको विश्वव्यापी पहिचानलाई अझ मजबुत बनाउने विश्वास लिएको छु।’ यसैबीच, डा. कार्कीले अमेरिकाको सबैभन्दा ठूलो मेडिकल विशेषज्ञता संगठन अमेरिकन कलेज अफ फिजिसियन्सको प्रतिष्ठित फेलोशिप पनि प्राप्त गरेका छन्।

नेपाल चिकित्सक संघका निवर्तमान अध्यक्ष डा.कार्की चिकित्सा शिक्षा, स्वास्थ्य सेवा व्यवस्थापन र नीतिगत विकासमा सक्रिय छन्। उनी चिकित्सकको हकहित र समग्र स्वास्थ्य सेवाको विकासमा निरन्तर कार्यरत छन्।