बारा, बारामा यात्रु बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा २७ जना घाइते भएको प्रहरीले जनाएको छ।
काकड्भिट्टाबाट काठमाडौंका लागि छुटेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक बिहान २ बजे बाराको अमलेखगन्ज - ३ नम्बर पुल नजिक एक आपसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा परी ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौंडाका बस चालक र अर्का सनाखत हुन नसकेका एक पुरुषको मृत्यु भएको बारा प्रहरीले जनाएको छ। उनीहरुको हेटौंडा सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जनाएका छन्।
घाइतेमध्ये ७ जनाको अवस्था सिकिस्त रहेकाले उपचारका लागि हेटौँडा तथा चितवन मेडिकल कलेज पठाइएको छ। अन्य २० जना सामान्य घाइतेको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ।