जेनजी प्रदर्शनका बेला जेल फोडेर फरार दुई कैदी बन्दी काठमाडौंमा पक्राउ

HTV Khabar २७ कार्तिक २०८२, बिहीबार १२:३८ मा प्रकाशित

काठमाडौं, जिल्ला प्रहरी परिसर, काठमाडौंले जेनजी प्रदर्शनका बेला कारागारबाट फरार दुई कैदीबन्दीहरूलाई पक्राउ गरेको छ।

भदौ २४ गतेको प्रदर्शनका क्रममा केन्द्रीय कारागार, जगन्नाथदेवल, काठमाडौंबाट फरार डाँका, चोरी मुद्दाका कैदी ३२ वर्षीय सुजन रसाइलीलाई पक्राउ गरिएको सूचना अधिकारी समेत रहेका एसपी पवनकुमार भट्टराईले बताएका छन्।

सिन्धुपाल्चोको बाह्रबिसे नगरपालिका वडा नं. ३ घर भएका रसाइलीलाई काठमाडौं महानगरपालिका वडा नं. ६ आरुबारी, सिमलटारबाट पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ।

प्रदर्शनको क्रममा कारागार कार्यालय, भीमफेदी, मकवानपुरबाट पर्खाल भत्काई फरार लागुऔषध मुद्दाका कैदी २५ वर्षीय विष्णुलाल थिङलाई पनि काठमाडौं प्रहरीले पक्राउ गरेको छ।

मकवानपुरको बकैया गाउँपालिका वडा नं. ६ घर भएको थिङलाई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ६ ग्रिनहिलसिटीबाट पक्राउ गरिएको एसपी भट्टराईले बताएका छन् ।