चुरे संरक्षणको माग गर्दै काठमाडौंमा भयो प्रदर्शन

HTV Khabar १९ श्रावण २०८२, सोमबार ०५:५९ मा प्रकाशित

काठमाडौं, चुरे संरक्षण गर्न र सुक्खापीडित किसानहरुलाई क्षतिपूर्ति दिन माग गर्दै आज काठमाडौंमा प्रदर्शन भएको छ।

‘चुरे तथा वन जंगल संरक्षण अभियान नेपाल’को अगुवाइमा चुरे संरक्षणकर्मीहरुले काठमाडौंमा प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागीहरुले चुरे वनजंगल संरक्षण गर, जीवन बाँच्न पानी देऊ, लगायत नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरुले टुँडिखेल परिक्रमा गरेका थिए।

चुरे विनासका कारण तराई मधेशमा पानीको संकट निम्तिएको उनीहरुको भनाइ छ। सुक्खाग्रस्त क्षेत्रमा डिपबोरिङ दिगो समाधान नभएको उनीहरुको भनाइ छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सुक्खाको समस्या समाधान गर्न ५०० डिपबोरिङ गर्ने घोषणा गरेका थिए।

उनीहरुले सुक्खापीडित किसानहरुलाई तत्काल राहत तथा क्षतिपूर्ति दिन, चुरे दोहन रोक्न, खोलाहरुमा चेकड्याम निर्माण गर्न, पोखरीहरुलाई प्राकृतिक तरिकाले संरक्षण गर्न, दोहन गर्नेहरुलाई वन ऐन–कानुनअनुसार कारबाही गर्न पनि माग गरेका छन्।