युवालाई संसदिय तथा नगर सभाको अभ्यास गराउँदै बूढानीलकण्ठ नगर युवा परिषद्

सबिन पन्त 'पृथक' ९ फाल्गुन २०८१, शुक्रबार ०१:३१ मा प्रकाशित

काठमाडौं, बूढानीलकण्ठ नगरपालिका भित्र रहेका युवाहरुको नेतृत्व विकासका साथै युवाहरुलाई संसदिय अभ्यास र नगर सभाको अनुभव गराउने उद्देश्यका साथ “नमुना युवा संसद् स्थापना र अभ्यास कार्यक्रम” आयोजना गर्न लागिएको छ।

बूढानीलकण्ठ नगरपालिका नगर युवा परिषद्‌को आयोजनामा हुन लागेको यस कार्यक्रममा नगरपालिका भित्र स्थायी रुपमा बसोवास गर्ने १६ देखी २४ वर्षका युवाहरुले सहभागिता जनाउन पाउनेछन्।

नमुना युवा संसद् अभ्यासको पहलमा युवालाई देशको संविधान नियम कानून, संसदीय व्यवस्था र अनुशासन सिकाइ भविष्यमा असल नेतृत्व गर्न सक्षम जनशक्ति उत्पादन गर्नका लागि ३ दिने आवासिय नमूना युवा संसद् अभ्यास कार्यक्रम आयोजना गर्न लागिएको नगर युवा परिषद् उपाध्यक्ष रुपेश भट्टराईले बताएका छन्। 

आयोजना गर्न लागिएको कार्यक्रम मार्फत युवाहरुलाई व्यवस्थापिका कार्यपालिका र न्यायपालिकाको कार्य तथा अन्तरसम्बन्धको ज्ञान गराई असल संस्कार र सुझबुझपूर्ण व्यवहार सिकाउने मुल उद्देश्य राखिएको पनि भट्टराईले बताए।

फागुन १७ गते देखी १९ गते सम्म आवासिय कार्यक्रम संचालन हुने भएकोले ईच्छुक नगरवासी युवाहरुले २०८१ साल फागुन १५ गतेसम्म आवेदन नगर युवा परिषद्को कार्यालय गई फारम बुझाउनु हुन परिषद्ले आव्हान गरेको छ।

आवेदकहरुले यसै पत्रसाथ संलग्न भएको अनलाईन फारम क्यूआर कोड प्रयोग गरेर फाराम भर्न सक्नेछन्। परिषद्का अनुसार सहभागी संख्या सिमित रहेकोले पहिले आउने आवेदनलाई प्राथमिकतामा राखिएको छ र मापदण्ड नपुगी आएका आवेदनहरु स्वतः रद्ध हुनेछ।