काठमाडौं, गोकर्णेश्वर नगरपालिकाका कर्मचारीले फेसबुक र युट्युब चलाउन नपाउने गरि नगरपालिकाले प्रतिबन्ध लगाएको छ तर यो प्रतिबन्ध सबै समयको लागि भने लगाएको होईन।
कर्मचारीले कार्यालय समयभरमा नगरबासी सेवाग्राहीहरुलाई छिटो र छरितो सेवा प्रवाह गर्नुपर्ने कर्तव्य भएकोले फेसबुक र युट्युब जस्ता सामाजिक सञ्जाल चलाउने कार्यले सेवाग्राहीलाई असुविधा पुग्नसक्ने भएकोले त्यसलाई मध्ये नजर गर्दै कार्यालय समयमा नगरका कुनैपनि कर्मचारीले सामाजिक सञ्जालको प्रयोग गर्न प्रतिबन्ध लगाईएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताएका छन्।
कर्मचारी भनेको नै कर्म गर्ने भएकोले आफूले पाएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्नुपर्ने प्रमुख पन्थीले बताए।
कामचोर कर्मचारीले गर्दानै सारा इमान्दार कर्मचारी माथि पनि प्रश्न उठ्ने गरेको प्रष्ट पार्दै उनले भने 'मैले सरकारी सेवामा प्रवेश गरेदेखि नै ईमान्दार र निष्ठापूर्वक कर्म गर्दै आएको छु। त्यसैले मेरो मातहतमा रहेका कर्मचारीलाई पनि निष्ठापूर्वक आफ्नो जिम्मेवारी पुरागर्न प्रेरणा दिने गरेको छु।'
त्यसैले नगरका कुनैपनि कर्मचारीले आफ्नो कर्ममा नचुकुन भनेर कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन रोक लगाउँदै कुनै पनि कम्प्युटरमा सामाजिक सञ्जाल चलाउन नमिल्ने बनाईएको प्रमुख प्रशासकीय अधिकृत पन्थीले एचटिभी खबरलाई बताएका छन्।